Web Design In Nepal

रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

साउन २, २०७८ शनिबार 384

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहनुभएको छ । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफँैले उत्पादन गरिरहेको लामाले बताउनुभयो ।

अहिले टनेलभरि गोलभेँडा फलाइरहनुभएका उहाँले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहनुएको छ । फलाएको तरकारी स्थानीय बजारमा नै बिक्री हुने, बढी भएको र सिजनमा फलेको बेलामा भकुण्डे, बनेपा र काठमाडौँसम्म लगेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । यसरी गरेको व्यवसायले राम्रै आम्दानी पाइरहेकाले आफू सन्तुष्ट रहेको लामाको भनाइ छ । “अहिले मासिक करिब रु दुई लाख जति आम्दानी हुन्छ, त्यसबाट कामदारलाई तलब दिने, खर्च कटाउने र बाँकी ऋण तिर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “काम गर्नेमध्ये छ जना सुर्खेतबाट आएर काम गरिरहेका छन् भने बाँकी चार जना स्थानीयवासी रहेका छन् ।”

उहाँका अनुसार दुई÷दुई जनाको परिवार रहेको कामदारमध्ये भैँसी फार्ममा काम गर्नेलाई मासिक रु ३० हजार, तरकारी खेती गर्नेलाई रु २५ हजार र बाख्रा फार्ममा काम गर्नेलाई रु २२ हजार दिने गरिएको छ । यसरी काम गर्दै आएको करिब दुई वर्ष भयो । त्यसरी व्यवसाय गर्नका लागि उहाँले गाउँमा नै मासिक रु एक लाखको पाँच हजार ब्याज तिर्ने गरी ऋण लिएर चलाइरहेको बताउनुभयो । “यदि त्यसरी चर्को ब्याज तिर्न नपरेको भए दुई वर्षमा मैले दोब्बर कमाइ गर्ने थिएँ तर अहिले चर्को ब्याजमा ऋण लिएर चलाएका कारण अहिलेसम्ममा ऋण तिर्नमा नै ठिक्क भइरहेको छ”, उहाँले भन्नुभयो, “मेरो अहिले २० रोपनी जग्गा छ, बेच्यो भने रु दुई करोड जति आउँछ तर मलाई कृषि व्यवसायका लागि बैंकमा जाँदा विभिन्न कागजात माग्ने, त्यसमा पनि गाउँको जग्गा राखेर ऋण दिन मिल्दैन भनेर झुलायो, अन्तिममा २० रोपनी जग्गा धितो राखेर जम्मा रु १० लाख लैजाऊ भनेपछि त्यो छाडेर गाउँमा नै बरु चर्को ब्याज तिरेर चलाउँछु भनेर शुरु गरेको हुँ ।”

अहिले पालेको खसी बोका बिक्री गर्नका लागि बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । चाहेको बेलामा खरिदकर्ता आफैँ लिन आउँछन् र आफँैले लग्यो भने पनि गाडी भाडा उनीहरुले नै बेहोरेर खरिद गर्ने गरेको उहाँको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री भएन भनेर खुम्चिएर बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

कृषि फार्म सञ्चालन गर्नका लागि नगरपालिकाको कृषि शाखा प्रमुख रेशम दाहालसँग सल्लाह गरेर काम गर्दा उहाँले शुरुमा गर्नुस् भनेपछि अन्तिममा एउटा प्लाष्टिक र औषधि छर्ने पम्पसमेत नदिएपछि राज्यको निकायबाट आउने सहयोगको समेत आशा मारेको उहाँले बताउनुभयो । बीस वटा टनेलबाट शुरु गरेको खेती अहिले ३२ रोपनी जग्गामा ५० वटा टनेल बनाएर सबैमा गोलभेँडा फलाइरहनुभएको छ । दुई लट गरी रोपेको गोलभेँडा अहिले कुनैमा फूल फुल्ने र कुनै टनेलमा लटरम्म फलिरहेको छ । “उत्पादन भएको गोलभेँडा बिक्री भएन भन्ने चिन्ता छैन, अधिकांश स्थानीय बजारमै बिक्री हुन्छ, बाँकी रहेको भकुण्डे, धुलिखेल, बनेपा र काठमाडौँसम्म लगेर बेच्ने गरेको छु”, उहाँले भन्नुभयो । त्यससँगै फार्ममा दुर्ईवटा गाई र पाँचवटा भैँसी छन् । “ती गाई, भैँसीबाट दैनिक ८५ देखि ९० लिटर दूध उत्पादन हुने गरेको छ, त्यससँगै गाउँमै दूध सङ्कलन गरी दैनिक २०० देखि २५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “कृषि खेतीसँगै ५० वटा बाख्रा छन्, अब दुई महिनामा ९० वटा खसी बोका पु¥याउने लक्ष्य राखेको छु ।”

यसरी शुरु भयो व्यवसाय

विसं २०६६ मा विदेश जानका लागि राहदानी निकाल्न परराष्ट्र मन्त्रालय अगाडि गएर राति नै २ बजे लाइन बस्न जाँदा त्यो रातको समयमा मान्छेको लाइन देखेपछि लगेको सिफारिसपत्र त्यहीँ च्यातेर भोलिपल्ट घर फर्केपछि रु ५० हजार ऋण लिएर किराना व्यवसायबाट काम शुरु गरेको व्यावसायिक यात्राले मासिक रु दुई लाखसम्मको आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्