
बुटवल ।अक्सफोर्ड मावि बुटवलले देवीनगरस्थित एन्फा एकेडेमीमा एक समारोहका बिच सुरु गरेको खेलकुद कार्यक्रम अन्तर्गत शनिबार र आइतबार दोस्रो तथा तेस्रो दिनका खेलकुदहरू सम्पन्न भएका छन् । विभिन्न सदनहरूमा विभाजित कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न खेलहरूमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । २०८० माघ १२ गते शुक्रबारदेखि सुरु गरिएको उक्त कार्यक्रम निरन्तर रूपमा चार दिनसम्म सञ्चालन हुने जानकारी विद्यालयले दिएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले अध्यक्षता ग्रहण गर्नुभएको उक्त कार्यक्रमको दोस्रो र तेस्रो दिनमा कक्षा १ र २ तर्फ स्वीट रेस , इन आउट खेल , फ्रग रेस ,कक्षा ३ र ४ तर्फ १०० मिटर दौड, स्किपिङ, कलेक्टिङ बल जस्ता खेल तथा दौडहरू सञ्चालन गरिएका थिए भने कक्षा ५ र ६ तर्फ इन आउट, चम्चा गुच्छा दौड, म्युजिकल चेयर जस्ता खेल तथा दौडहरू सञ्चालन गरिएका थिए । यसैगरी ७ र ९ कक्षातर्फ फाइनल चरणको भलिबल, सेमी फाइनल चरणको फुटबल र सट पुट जस्ता खेलहरू सम्पन्न भएका थिए । दोस्रो दिनको एउटा अझ रोचक खेलको रूपमा विवाहित र अविवाहित शिक्षक कर्मचारीहरूबिच लुठो तान्ने खेलसमेत सम्पन्न भएको थियो । उक्त खेलमा विवाहित समूह विजयी भएको थियो । पहिलो दिन विद्यार्थीहरूको मार्च पास गरी सुरु भएको उक्त कार्यक्रम हेर्न दोस्रो दिन पनि उल्लेख्य सङ्ख्यामा विशिष्ट व्यक्ति तथा स्थानीयहरूको उपस्थिति रहेका थियो ।
विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाई उनीहरूमा प्रतिस्पर्धात्मक भावना जगाउनुका साथसाथै उनीहरूको शारीरिक र मानसिक विकासका लागि यस्ता कार्यक्रमहरू फलदायी हुने हुँदा सबै पक्षबाट यसलाई निकै सकारात्मक ढङ्गले लिएको आफूले पाएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कपिल ढकालले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्