
पृष्ठभूमि
माघ २० गते नेकपा (एमाले)ले काठमाण्डौमा युवा महोत्सव आयोजना गरेको छ । यो आम युवाका लागि बहुद सुखद पक्ष हो । युवाहरुका समस्या र समाधानका उपाय पनि यस्ता महोत्सवबाट पत्ता लगाउन सहयोग पुग्ने छ । युवा राजनीतिको कोशेढुंगा बन्ने अपेक्षाका साथ यो महोत्सवले उठान गर्नुपर्ने विषयलाई मध्येनजर गरेर यो आलेख तयार गरेको छु ।
युवाहरुका विषयमा विभिन्न पक्षबाट बहुआयामिक भाष्यहरु निर्माण गरिएका हुन्छन् । बालक, बयष्क र बृद्धहरुका आँखाबाट युवाहरुलाई फरक फरक देख्न सकिन्छ । युवा भएकै छैनबाट र युवा उमेर पार गरेकाबाट अएका निष्कर्षको संगालो नै युवा हो भन्दा अतिस्योक्ती हुनेछैन । आर्थात घर, परिवार समाजको आशा र भरोषाको केन्द्र हो युवा ।युवा जीवनको सवैभन्दा उर्वर समय हो । युवा शारीरिक रुपमा स्फुर्ति र जोस अनि मानसिक रुपमा सपनाले वेरिएको हुन्छ । युवा यथास्थितिमा रमाउदैन । परिवर्तन, गतिशीलता र लगनशीलता युवाको पर्यायबाची हो । त्यसैले युवा क्रान्तिका जननी र समृद्धिका सम्बाहक हुन् । युवा के गरिरहेका छन् ? युवाको लक्ष्य कस्तो भैरहेको छ ? भन्ने कुराले त्यो देश कस्तो रहेछ भन्ने कुराको निक्र्यौल निकाल्न सकिन्छ । त्यसैगरी उसको व्यक्तिगत जीवनलाई भविष्यमा कस्तो रुपमा उभ्याउने भन्ने विषयको परिचायक पनि युवा उमेर नै हो ।
युवाको विषयमा घोत्लिदै गर्दा कुन देशको युवा भनेर पनि सोच्नु पर्ने हुन्छ । यति नै वेर अमेरिकाको युवाले के सोचीरहेको छ ?, उसले कस्तो उद्यमशीलताको बारेमा सोच्दो हो ? चीन, जापान या मलेसियाको युवाले उसकै जीवनको भविष्य कसरी कल्पना गर्दो हो र हामीजस्ता पिछडिएको देशका युवाले आफ्नै भविष्यको वारेमा, उद्य्रम र सफल जीवनको बारेको सोचाईमा कतिको तादाम्यता मिल्छ होला त ? काठमाण्डौका युवा र डोल्पाको युवा वीचमा पनि हामीले फरकपना भेट्दछौं ।
समाजको सवैपक्षमा प्रभाव पार्ने पक्ष भेनको राजनीति हो । कसैले राजनीति गर्दिन र गर्न हुदैन भन्छ भनेपनि उसले पनि राजनीति नै गरिरहेको हुन्छ । सामान्यतः राजनीति साशन गर्ने नीति हो । राजनीतिबाट युवालाई अलग गराउनु भनेको साशन चलाउने प्रक्रियबाट अलग गराउनु हो अर्थात ऊमाथि साशन गरीरहने रणनीति हो । राजनीति नीतिहरुको नेता नीति हो । राजनीति ठीक हुदा हरेक पक्षले सही गति लिईरहेको हुन्छ भने जव राजनीति विग्रन्छ सवैपक्ष भद्रगोल अवस्थामा रहन पुग्दछ । राजनीतिलाई कतिपयले फोहोरी खेल भनेर नकारात्मक भाष्य बनाइरहेको वर्तमान सन्दर्भमा यो फोहोरलाई सफा गर्न पनि युवाले सचेतना पूर्वक राजनीति नै गर्नुपर्ने हुन्छ ।
राजनीति भनेको राज्यसत्तामा सञ्चालन गर्ने नीति हो । राजनीति गर्नु भनेको राज्यसत्ता सञ्चालन गर्नु वा सो तर्फ उद्धत हुनुलाई नै बुझिन्छ । त्यसैले कस्तो नीति भएको दल, कस्तो आचारण भएको नेता, कस्तो कार्यशैली भएको पार्टीले राज्य सञ्चालन गरेको छ भन्ने कुराले सो देशको भविष्य निर्धारण गर्दछ । यसर्थ पार्टीमा लाग्नु, राजनीति गर्नु भनेको पनि राष्ट्र निर्माणको महत्वपुर्ण पाटोसँग जोडिएको विषय हो । त्यसैले राजनीतिबाट युवा अलग रहन सक्दैन ।
नेपाली युवाको वर्तमान अवस्था
नेपाली समाज राजनीतिक आन्दोलनको माध्यमबाट हक अधिकारहरु स्थापित भई समाजिक, आर्थिक र साँस्कृतिक परिवर्तनका काम पुरा गर्न बाँकी रहेको अवस्थामा छ । जनसंख्याको एकतिहाई ओगट्ने युवा समुदायको ठूलो पंक्ति आर्थिक रुपमा निष्कृय छन् । आयमूलक क्रियाकलापमा भन्दा घरयासी क्रियाकलापमा संलग्न संख्या धेरै देखिन्छ । दिनप्रतिदिन युवाहरु बेरोजगारी बढ्दो छ । ४० लाख नेपालीहरु विश्वका विभिन्न मुलुकहरुमा रहेको अुनमान छ । जनसंख्याको ४२.५६ प्रतिशत संख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती रहेको छ ।
युवा श्रमशक्ति विदेश पलायनले, गाउँवस्तीहरु खाली हुँदै जादा निर्वाहमूखी खेतीमा आश्रित जनसंख्या समेत बजारमाथि निर्भर हुदै गएको छ । यसले खाद्यन्नमा समेत परनिर्भता बढाएको छ । कृषिको बृद्धिदर सन्तोषजनक छैन । कृषिको व्यवसायीकरण हुन नसक्नु, औद्योगिक अर्थतन्त्र साँघुरिदै जानु विदेशी लगानी अपेक्षित मात्रामा भित्रिन नसक्नु र मुलुकमा राजनीतिक अस्थिरता लम्बिदै जानुले रोजगारीका अवसर सिमित हुदै गैरहेका छन् ।
२ वर्ष पहिले कोरोना भाइरस (कोभिड १९) को महामारी र वर्तमान रुस युक्रेन युद्धका कारण विश्वका प्राय सबै राष्ट्रहरुमा असर परेका छन् । नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकहरु– मलेसिया, साउदी, कतार, कुवेत, यु.ए.ई., बहराइन, ओमान, जोर्डन, दक्षिण कोरया, जापान, अमेरिका, अष्ट्रेलिया, यु.के., क्यानडा, जर्मनी आदि जस्ता मुलुकहरुमा समेत असर गरिरहेको छ । गुगल, टुइटर लगायतका सामाजिक सञ्जाल सञ्चालक कम्पनीले भर्खरै मात्र पनि व्यापक रुपमा रोजगारीको कटौति गरेको छ । वल्र्ड इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार विश्वमा २ सय मिलियन युवा बेरोजगार छन् । प्रतिवेदनको अनुसार २०२४ मा ५०० मिलियन नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने प्रक्षेपण पनि छ । युवा शक्ति श्रम शक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ ।
यसमा चाखलाग्दो विषय रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् र श्रमिकले दक्षताअनुसारको श्रमको अवसर पाइरहेका छैनन् । यो अवस्थामा युवाहरु ओइरो विनाको जातोजस्तो भएका छन् । ओइरो विना जातो घुमिरह्यो भने जातोले पिस्ने क्षमता नै नष्ट गर्दछ । त्यसैगरी युवाहरुले विजनेश पाएनन् भने श्रम गर्ने युवाहरुको अर्गानिक चरित्र गुम्न सक्ने खतार उत्पन्न भैरहेको छ । युवाको अर्गानिक चरित्र भनेको उत्पादनसँग गासिनु हो, उत्पादनका साधनको निरन्तर विकास गरिहनु हो । तर युवा श्रमसँग नजोडिदा अपराध, कुलत र डिप्रेशनतिर गैरहेको देखिन्छ ।
यसरी हेर्दा वर्तमान नेपाली युवाहरुको समस्यालाई यसरी सुत्रीकृत गर्न सकिन्छ । बेरोजगारी, सीप सहितको शिक्षाको अभाव, उद्यमशीलताको अभाव, गरिवी, पोषण र स्वास्थ्य, सामाजिक बन्धन एवं रुढीग्रस्त चिन्तन, कुलत, सामाजिक सुरक्षा र विदेश पलायन ।
युवा राजनीतिको अबको बाटो
सीप सहितको शिक्षा, रोजगारी र उद्यमशीलताको वातावरणः
हाम्रो शिक्षा उद्यमशीलताको क्षेत्रमा धन कमाउन योग्य बन्ने, विज्ञानको क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान र अन्वेषण गर्ने, प्रविधीको क्षेत्रमा नयाँ नयाँ प्रविधीको निर्माण गर्ने, सामाजिक क्षेत्रमा निष्ठावान असल व्यक्ति वन्ने, यसले व्यक्तिलाई स्वावलम्बी बनाउँछ । राष्ट्रप्रति समर्पित हुन सिकाउछ । श्रमको सम्मान गर्न सिकाउछ । आफ्नो खुट्टामा उभिन सिकाउछ । तर अहिले हाम्रा बच्चाहरु कक्षा ८ पास गरेपछि हलो छोड्छ, कक्षा १० पास भएपछि घर छोड्छ । कक्षा १२ पास भएपछि देश छोड्छ । हो अव यसलाई वदल्ने शिक्षा आजको आवश्यकता हो ।
दैनिक ४÷५ लाख युवाहरु श्रम नदेखेर, काम नबुझेर, काम नपाएर, सिप नभएर क्यारेमबोर्ड खेलेर दिन कटाईरहेका छन् । दिनभरी बुबाआमाले कामदार नपाउने, सोही दिन छोराछोरीले काम नपाउने अररो अवस्था सिर्जना भएको छ । यसैले हाम्रो शिक्षा नीति बदल्ने कुरा युवा राजनीतिको मूल कार्यभार बन्न गएको छ ।
अवको युवा Skillfull hand and creative mind भएका युवा बनाउनु पर्छ । त्यसको लागि हरेक युवाले उपयुक्त शिक्षा पाउनु पर्छ । शिक्षा क्षेत्रमा हामी धेरै पछाडि छौं । हाम्रो समाजमा विद्यालयीय शिक्षा लिने परिवार भर्खर दोस्रो पुस्तामा छ । विद्यालयीय शिक्षाले सिप दिएको छैन । केबल पढ्न र लेख्न आउने मात्रै शिक्षालाई अब केही गर्न आउने शिक्षा बनाउनु पर्ने छ ।
हाम्रा शिक्षक केवल जागिरका लागि होइन उनीहरु त सीप दिने हुनुप¥यो । पावरको भरमा शिक्षक होइन योग्यता क्षमताको आधारमा हुनप¥यो । हाम्रो शिक्षाले सैद्धान्तिक पक्षलाई बढी जोड दियो । सैद्धान्तिक बढी भयो तर व्यवहारिक कम । पौडी खेल्ने तरिका पढाउने तर पोखरीमा पौडन नसिकाउने खालको भयो । त्यसैले हाम्रो शिक्षित समुदाय रोजगारी सिर्जना गर्ने खालको होइन रोजगारी खोज्ने खालको भयो । यसलाई वदल्नै पर्छ । डिग्री गरेको एक युवालाई सोध्ने हो भने ऊ बेरोजगार हुन्छ । तिमी के गर्न सक्छौ भन्यो भने जे पनि गर्छु भन्छ । डिग्री गरेको मान्छेले त यो–यो गर्छु भन्नु पर्ने होइनर ? रोजगारी खोज्ने होइन रोजगारी सिर्जना गर्ने विद्यार्थी बनाउनु पर्छ ।
ब्रम्हाण्डको उत्पतिदेखि यसको विकास सवै श्रममा अडिएको छ । श्रमविना प्रकृति चल्नै सक्दैन । यो विश्व भगवानले वनाएको होइन बरु श्रमको परिणति हो । भवन, पुल, मेशिन, प्रविधी, कम्पनी, सहकारी यी सवै मानवका श्रमबाट भएका हुन् भन्ने कुरा हाम्रा विद्यार्थीलाई गहिरोगरी बुझाउनु प¥यो । यति बुझेपछि ऊ श्रममा लाग्छ । जाग्छ र श्रमको गोरेटो खोज्छ । अर्थात उद्यमी युवा निर्माण गर्ने शिक्षा आजको आवश्यकता हो । व्यवसायिक योजना बनाउन सक्ने युवा चाहियो । हाम्रो शिक्षा केवल जीवन विताउने खालको मात्रै होइन जीवनलाई श्रेष्ठ बनाउने खालको हुनुपर्छ ।
स्वस्थ युवा स्वस्थ समाज
हरेक नागरिक स्वस्थ हुनुपर्छ, विमार पर्दा उचित उपचार पाउनुपर्छ । धनि र गरिबले पाउने स्वास्थोपचारमा विभेद रहेको छ । स्वास्थ्य क्षेत्र रहेको दुरावस्था बदल्ने कुरा युवा राजनीतिको महत्वपुर्ण एजेण्डा हो । नेपालको संविधानमा उल्लेखित मौलिक हकलाई कार्यान्वयनका लागि दवाव सिर्जना गर्ने र आधार पैदा गरेर मात्रै श्रम गर्न सक्ने योग्य युवा निर्माण गर्न सकिन्छ ।
सुशासनयुक्त समाज निर्माण
सुशासन समाजको विकास र समृद्धिको सुचक हो । भ्रष्टाचार सुचाकांकमा नेपाल लाजमर्दो स्थितिमा छ । हरेक क्षेत्रमा सुशासन कायमा गर्नका लागि विकास आयोजनाको कामको गुणस्तर कायम गर्ने र समयसीमा भित्र सम्पन्न गराउन दवाव सिर्जना गर्ने, हरेक सरकारी कार्यालयमा भएको ढिलासुस्तीलाई छिटो छरितो बनाउन दवाव सिर्जना गर्ने, हरेक कार्यालयलाई आधुनिक प्रविधी मैत्री बनाउन पहल गर्ने, दिनप्रतिदिन बढीरहेको भ्रष्ट्राचारलाई निर्मूलिकरण गर्न ठोस पहलकदमी गर्ने, न्यायपालिका, कार्यपालिका, अख्तियारमा समेत भैरहेको भ्रष्टाचारको पर्दाफास गर्ने र जनताको आँखाबाट देखिने गरी पहलकदमी गर्ने कार्य युवा राजनीतिको आजको मुख्य कार्यभार भएको छ ।
युवा आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र सार्थक कार्यान्वयनको सवाल
युवा समाजका विकृति, विसंगति र विभेदलाई मसानघाटसम्म पुर्याउने मलामी हुन भने समानता, विकास, समृद्धि र नयाँ युगलाई डालीमा चढाएर समाजमा भित्र्याउने जन्ती पनि युवा नै हुन् । पछिल्लो समय अवान्छित तवरले प्रतिगामी तत्वहरुको सल्वलाहटलाई पनि युवा पंक्तिले तह लगाएका छन् । युवाहरुको वलिदानी संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । युवा आन्दोलनको उपलब्धीलाई रक्षा गर्ने र प्रभावकारी कार्यान्वयका लागि आवश्यक पहलकदमी गर्ने अवको युवा राजनीतिको मख्य बाटो भएको छ ।
युवा आन्दोलनको उपलब्धीको रुपमा रहेको युवा मन्त्रालयलाई नाम अनुरुपको काम केन्द्रीत हुन दवाव दिने, राष्ट्रिय युवा परिषदको प्रभावकारीता र औचित्य सावित गर्ने, सहुलितय ऋणका ९ वटा क्षेत्रमा देखिने बुझिने गरी ऋण कार्यान्वयनमा गर्ने, स्वरोजगार कोष, प्रधानमन्त्री स्वरोगार कार्यक्रमलाई प्रभावकारी बनाउने र बैंकहरुबाट प्रवाह भएका ऋणको निश्चित प्रतिशत युवा उद्यमशीलताको क्षेत्रमा अनिवार्य लगानी गर्न नीति निर्माण गर्ने कार्य गर्दा मात्रै युवा राजनीतिले ठीक दिशा पक्रन सक्नेछ ।
राजनीतिक स्थिरता
राजनीतिक अस्थिरताका कारण देश अविकासतर्फ गयो, गरिब भयो भन्ने निष्कर्ष सही हो । राजनीतिक स्थितिरताको लागि बलियो राष्ट्रिय शक्ति निर्माण आजको अनिवार्य शर्त हो । यो कुराको पुष्टी तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेका विकास निर्माण, राष्ट्रहीत र समृद्धिको कार्यले पाएको तिव्रताले पुष्टि गरेको छ । केपी ओली सरकाले शुरु गरेको पुर्वाधार विकासको आयोजनालाई पुर्णता दिनुको सट्टा बजेट कटौती गर्ने उल्टो बाटोबाट वर्तमान गठबन्धन सरकार हिडीरहेको छ । जनमतका हिसावले तेस्रो शक्तिले सत्ताको नेतृत्व गरिरहेको छ । सरकारको ध्यान समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने भन्दा पनि सरकार कसरी टिकाउने खेलमा नै गैरहेको प्रष्ट छ । विकास निर्माणको कार्य ठप्प प्रायः छ । रोजगारी र उद्यमशीलताको क्षेत्रमा कुनै पहलकदमी छैन । यसले युवा पंतिमा व्यापक निराशा छाएको छ । पुँजीगत खर्च अपेक्षाकृत भएको छैन । यसको मूल कारण राजनीतिक अस्थिरता नै हो । त्यसैले राजनीतिक स्थिरिता आजको आवश्यकता हो । जसको लागि निर्वाचन प्रणालीमा भएका कमजोरीलाई सुधार गर्नुपर्ने छ । समानुपातिक प्रणाली र थ्रेस होल्को विषयमा आवश्यक सुधार गर्नैपर्ने देखिएको छ ।
राजनीतिक कार्यदिशा
मूलभूत रुपमा जनवादी क्रान्तिको एक चरण पार गरिएकाले अव समाजवादी क्रान्तिको आधार तयार गर्न विकास र समृद्धिको एजेण्डा तयार पार्नुपर्ने छ । कसो गर्दा समाजवाद स्थापना हुन्छ ? नेपालको संविधानले परिकल्पना गरेको समाजवाद कस्तो खालको समाजवाद हो ? परिपुर्ण लोकतन्त्रको स्थापना कसरी गर्न सकिन्छ ? निर्वाचनलाई निष्पक्ष र पारदर्शी कसरी बनाउन सकिन्छ ? धन प्रवाभी भैरहेको निर्वाचनलाई एजेण्डा प्रवाभी कसरी बनाउन सकिन्छ ? यी र यस्तै प्रश्नको उत्तर खोज्ने राजनीतिक कार्यदिशा नै युवा राजनीतिको कार्यदिशा वन्नुपर्ने छ ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता
देश भुगोल, अर्थतन्त्र, जनसंख्या आदिका आधारमा ठूलो सानो होला तर स्वाभिमान बरावर हुन्छ भन्ने मान्यतामा अडिम रहनु पर्दछ । विदेश नीतिका सन्दर्भमा भुराजनीतिक अवस्थिति, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा तय गर्ने कुरामा सदैव दृढ हुनुपर्छ । मित्रता वदल्न सकिएला तर छिमेक बदल्न सकिदैन । चीन र भारत हाम्रा छिमेकी हुन् । छिमेकसँग कुरा गर्दा पारस्परिक हितका कुरा, स्वाभिमानका कुरा, आँखामा आँखा जुधाएर बराबरीमा कुरा गर्नुपर्छ भन्ने कुरामा हामी दृढ हुनै पर्दछ । तर वर्तमान सरकार भारतसँग प्रत्यक्ष रुपमा भेट्दा गिडगिडाउने र बाहिर पट्टी गएर ठूला ठूला कुरा गर्ने दोधारे चरित्र प्रकट गरीरहेको छ । नेपाल कहिल्यै कसैको गुलाम नभएको मूलुक हो । सार्वभौम सत्ता सम्पन्न देश हो भन्ने कुरालाई हृदयंगम गर्नै पर्दछ । नेपाल भारत सिमानाका सवाल, चुच्चे नक्सा अनुसार जमिन फिर्ताको सवाल, नागरिकता विधयेकको सवालमा राष्ट्रहितमा पक्षमा युवा राजनीतिले विशेष ध्यान दिनु जरुरी छ ।
सामाजिक सद्भाव
नेपाल अल्पसंख्यकहरु मिलेर बसेको देश हो । कुनै क्षेत्र त्यस्तो छैन जहाँ एकै जातिको मात्र बसोबास होस । सवै जाति, भाषा र संस्कृति मिलेर बनेको र बसेको संहिष्णु समाज भएको राष्ट्र हो नेपाल । भौगोलिक हिसाबले नेपाल विश्व मानचित्रमा सानो राष्ट्र देखिए तापनि बहुजाति बहुसाँस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छवि भएको देश हो । अक्षांशको हिसाबले हेर्ने हो भने प्रत्येक किलोमिटरमा भौगोलिक बनावट, वातावरण र संस्कृतिमा विविधता देखिन्छ । यिनै विशेषताले गर्दा नेपाल विश्वमा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ । नेपाली संस्कृति भन्ने बित्तिकै भेषभूषा, सामाजिक रीतिरिवाज, धार्मिक मेला, पर्व, खानपान, जीवनशैली आदि पर्छन् । यसमा अझ मौलिकपन आकर्षण बनेको छ । सामाजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको हुन्छ । नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी छन् भने बाँकी अन्य धर्मावलम्बी रहेका छन् । धर्म, संस्कृतिका नाममा प्रचलित संस्कारहरू जातजाति, छुवाछुत, भेदभावपूर्ण व्यवहार, महिला तथा बालबालिका हिंसालगायत परम्परागत हानीकारक अभ्यास हुने गरेको छ । यसको विरुद्ध अभियान सञ्चलन गर्ने र सद्भाव फैलाउने काम युवा राजनीतिको हो ।
नेपालको मौलिक विशेषता भनेकै विविधतामा एकता हो । विश्वका प्रमुख धर्ममध्ये अधिकांश धर्म, सम्प्रदायका व्यक्तिहरू नेपालमा आपसमा मिलेर रहेको अवस्था छ । विश्वमै धार्मिक सहिष्णुता कायम भएको देश भन्नेबित्तिकै नेपालको नाम अग्रस्थानमा आउँछ । यसैगरी जातिगत बनोट पनि बहुत घुललिमपुर्ण अवस्थामा रहेको छ । राज्यमा शान्ति, अमनचैन कायम गरी देश विकास र निर्माणको काममा नागरिकलाई अग्रसर बनाउनु हाम्रो मुख्य एजेण्डा हो । अतः युवा राजनीतिले समाजको वाहकका रूपमा समाजलाई एकजुट गराउन आफ्नो जिम्मेवारी वहन गर्नसक्नु पर्छ । प्रत्येक नागरिकको शान्तिपूर्वक जीवनयापन गर्ने चाहना हुन्छ । देशमा शान्ति, सुव्यवस्था कायम गरी राष्ट्र विकासको काममा सफलता हासिल गर्न सामाजिक सद्भाव जरुरी छ ।
हामीले राज्यको पुनःसंरचनाको कुरा गर्दा “फुटे आफ्नो टाउको फुटोस तर राष्ट्रियता नटुटोस” भन्ने नारा तय गरी अभियान चलाएका थियौं । राष्ट्र राज्य होइन, राज्य राष्ट्र हो भन्ने दृढ मान्यतामा अडिक रहेर लसुनको जस्तो सजिलै चोइटिन सक्ने संघीयता होइन भित्र केस्रा केस्रा भएको बाहिरी दरिलो बोक्राले घेरिएको सुन्तला जस्तो संघीयता देशको आवश्यकता हो भन्ने मान्यतालाई हामीले अघि सारेका हौं । तर यो वर्तमान गठबन्धन सरकार यस मामला चुकी रहेको छ । सरकारमा बसेर सामाजिक सद्भाव र सहिष्णु समाजलाई भड्काउन उद्धत देखिएको छ । यसलाई करेक्सन गर्नु युवा राजनीतिको अर्को कार्यभार थपिएको छ ।
सामाजिक न्याय
विधि र कानुनको शासनभन्दा पनि जनतालाई सबै प्रकारका न्याय प्रवाह गर्नु चाँही महत्वपूर्ण मानिन्छ । सामाजिक न्याय भनेको त्यो आधारभूत संरचना हो, जहाँ सबै किसिमका असमानताको अन्त्यका लागि आधिकार, शक्ति, अवसर, आय र सम्पत्तिको वितरण समान, सन्तुलित र न्यायपूर्ण किसिमले गरिन्छ । शक्तिसम्पन्न र शक्तिविहीन, ठूलो र सानो, धनी र गरिब, उँच र नीचको विभदेको अन्त सामाजिक न्यायको मूल मर्म हो ।
विकासको क्रमका समाज स्रोत साधन, सम्पत्ति तथा ज्ञान हुने र नहुने वर्गका विभाजित भयो । विभिन्न जातजातिको समान रूपमा विकास हुन सकेन । पिछाडिएको जातजाति र विकसित जातजातिका रूपमा समाज विभक्त हुन पुग्यो । समाज लैंगिक आधारमा समेत असमान रह्यो र पुरुष महिलाको दाँजोमा धेरै सुविधा भोगी भए । असमान समाजको विकासले सक्नेहरूले राज्य सञ्चालनको, अवसरको र सुविधाको राइँदाइ गर्ने र नसक्नेहरू असमानता, अभाव, अशिक्षा र अन्धकारमा जीवनयापन गर्न बाध्य भए । नागरिकले राजनीतिक अधिकार उपयोग निर्भयतापूर्वक गर्न सकिरहेको अवस्था छैन । गरिबी निवारण र रोजगारी सिर्जना गर्ने कार्यक्रम सफल हुन सकेका छैनन् । सामाजिक सुरक्षाका कार्यक्रम अपर्याप्त छन् । यस्तो अवस्थामा राजनीतिक एवं नागरिक अधिकार प्राप्त गर्दैमा र समृद्धि लक्षित आर्थिक विकासका नीति तर्जुमा हँुदैमा सामाजिक न्याय प्राप्त हुँदैन ।
राजनीतिक एवं नागरिक अधिकारको स्वतन्त्र उपयोग, आर्थिक विकास र रोजगारीका अवसरको विस्तार र समान वितरण सँगसँगै समान रूपमा सामाजिक सांस्कृतिक विकास भएन भने सामाजिक न्याय प्राप्त हुन सक्दैन । सामाजिक न्याय ः राजनीतिक स्वतन्त्रता र आर्थिक उपलब्धिको समान वितरण हो । सामाजिक न्याय समाजमा रहेका सबै वर्ग, लिंग र जातिको समान सुरक्षा र सम्मानको सुनिश्चितता हो ।
सामाजिक अन्तरनिर्भरता र नागरिकको स्वनिर्णयको सुरक्षाको सुनिश्चितता सामाजिक न्यायको महत्वपूर्ण पक्ष मानिन्छ । समाजमा शक्ति र स्रोत साधनबाट सम्पन्न र सम्भ्रान्त वर्गले मात्र राज्य लाभ असीमित रूपमा उठाइरहेको पाइन्छ । एउटा वर्ग र सम्प्रदायको मात्र समाजमा उपलब्ध संरचना र स्रोत साधनमाथि नियन्त्रण रहने तर अर्को वर्ग र सम्प्रदायको पहुँच सर्वथा न्यून रहने विषमतापूर्ण अवस्थालाई अन्यायपूर्ण मानिन्छ । आर्थिक समानता सामाजिक न्यायको मेरुदण्ड हो । समाजमा रहेको एउटा वर्गको हातमा अथाह सम्पत्ति, असंख्य अवसर, स्रोतसाधन केन्द्रित रहने र अर्को वर्ग ती अवसर, स्रोतसाधनको उपभोगबाट वञ्चित रहने अवस्था सामाजिक न्यायको गम्भीर चुनौती हो । सामाजिक न्यायले आयको स्तर र उपभोगमा सन्तुलन र समानताको अपेक्षा राखेको हुन्छ । सामाजिक न्यायका लागि सम्पति, अवसर र आयको वितरणमा समानता आवश्यक हुन्छ । यसकारण आय, सम्पत्ति र अवसर वितरणका लागि उत्पादन रोजगारी बढाउने र समान तथा सन्तुलित वितरणको व्यवस्था गर्नुपर्छ । यस विषयमा अवको युवा राजनीति केन्द्रिीत हुनुपर्दछ ।
देश बनाउने सपनाहरुको जागरण
देश मागरे बन्दैन । देशबाट भागेर पनि देश बन्दैन । रेमिटेन्समा आधारित अर्थतन्त्र देश विकासको मूल आधार बन्न सक्दैन । देश बनाउन उत्पादनमा आधारित अर्थतन्त्र आवश्यक पर्दछ । देशको लागि अव केही त गरौं भन्ने हरेक युवामा सोच र इच्छाशक्ति जरुरी छ । इपिएस पास गरेर कोरियातिर होइन नेपालकै खोरियामा लाग्छु भन्ने संकल्प आवश्यक छ । विदेशमा श्रम हैन उत्पादन बेच्ने संकल्प चाहिएको छ । हाम्रा समाजमा विस्कुट लिएर भित्रीएको ट्रकमा स्कुस भरेर पठाउने अभियान चलाउनु पर्नेछ । त्यसको लागि राज्यले आशा जगाउनै पर्छ । युवा राजनीतिको खास विषय पनि यही हो । निराशालाई आशामा, आक्रोशलाई जोशमा, कुण्ठालाई उर्जामा, कुशासनलाई सुशासनमा र अधैर्यतालाई धैर्यतामा बदल्नै खालको राजनीति नै युवा राजनीतिकाको मूल मर्म बन्नुपर्छ । मुर्छित भएको सपनालाई जागृत गर्नैपर्ने छ । नेपालमा सम्भव छ र गर्न सकिन्छ भन्ने आधार तयार गर्ने काम हाम्रो हो । देशमा गरिखाने युवा तयार गरेर नै समृद्ध नेपाल सुखी नेपाली निर्माणको आधारशिला तयार गर्न सकिन्छ ।
कृष्णहरि केसी
केन्द्रीय उपाध्यक्ष,
राष्ट्रिय युवा संघ नेपाल
प्रतिकृया दिनुहोस्