Web Design In Nepal

महिला हक्कीको उपाधि आर्मीलाई,आयाेजक बन्यो उपविजेता

फागुण २०, २०८० आइतबार 224

बुटवल,मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित खेल मैदानमा आइतबार भएको फाइनल खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

आर्मीको जितमा सितामाया बल र सीमा खड्काले दुई दुई गोल गर्नुभयो। बलले ३८औँ र ५८औँ तथा खड्काले ४२औँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो। यस्तै मदन भण्डारी एकेडेमीका लागि मधु राईले दुई गोल गर्नुभयो। राईले ४८औँ र ४९औँ मिनेटमा गोल गर्नुभयो।

उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपियाँ पुरस्कार पायो। उपविजेता मदन भण्डारीले एक लाख रुपियाँ पायो। फाइनल खेलमा आर्मीकी सितामाया बल प्लेयर अफ दि म्याच हुनुभयो। उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सरस्वती तामाङले पाउनुभयो। यस्तै उत्कृष्ट गोलकिपर आर्मीकी कुश्मा रानामगर,रक्षकमा आयोजक एकेडेमीकी सपना सिंह,उदीयमान खेलाडी लुम्बिनी प्रदेशकी अनन्य वर्णवाल हुनुभयो।

यस्तै आर्मीकी सितामाया बल, आयोजककी मधु राई र सुदूरपश्चिमकी बुलबुल कुमारीले सर्वाधिक गोल कर्ताको पुरस्कार पाउनुभयो। उत्कृष्टलाई जनही १० हजार रुपियाँ प्रदान गरियो।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले हराएको थियो। तेस्रो भएको सुदूरपश्चिमले ५० हजार रुपियाँ पुरस्कार पायो।

विजेतालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल,मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य,एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ,नेपाल हक्की सङ्घका अध्यक्ष अनिल शर्मालगायतले पुरस्कार प्रदान गर्नुभयो।प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेश,आर्मी र आयोजक एकेडेमी गरी आठ टिम सहभागी थिए।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्